

- दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ, अब कुनै द्विविधा छैन: मन्त्री पोखरेल
सुर्खेत — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने प्रस्ट पार्नुभएको छ। यसअघि पटक-पटक मिति परिवर्तन हुँदा खेलप्रेमी तथा खेलाडीहरूमा उत्पन्न भएको शङ्कालाई चिर्दै उहाँले अब प्रतियोगिता सर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ।
सुर्खेतमा आइतबार सम्पन्न मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले औपचारिक रूपमा प्रतियोगिताको तयारी र काउन्टडाउन सुरु भइसकेको जानकारी दिनुभयो।
«प्रतियोगिता तोकिएकै मितिबाट सुरु हुनेछ, तर यसको वास्तविक उत्साह र प्रशासनिक तयारी आजैदेखि सुरु भइसकेको छ। अब दसौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ वा हुँदैन भन्ने विषयमा कसैले पनि कुनै किसिमको द्विविधा वा शङ्का राख्नुपर्दैन,» उहाँले भन्नुभयो।गाउँघरका प्रतिभालाई प्राथमिकता
मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगितालाई केवल केही दिनको औपचारिकता वा पदकमा मात्र सीमित गर्न नहुने कुरामा जोड दिनुभयो। देशभरका कुनाकाप्चा र ग्रामीण भेगमा छरिएर रहेका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रियस्तरको खुला मञ्च प्रदान गर्नु नै यसको मुख्य ध्येय हुनुपर्ने उहाँको भनाइ छ।
दुर्गम क्षेत्रका युवा खेलाडीहरूले खेलकुदमार्फत आफ्नो पहिचान बनाउनुका साथै भविष्यमा खेलबाटै आफ्नो जीविकोपार्जन सुनिश्चित गर्न सक्ने गरी राज्यले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने उहाँले औंल्याउनुभयो।

मूल आयोजक समितिको यो बैठकमार्फत कर्णाली प्रदेशलगायत देशैभर खेलकुदको माहोल थप तातेको छ भने खेलाडीहरूलाई निर्धारित मितिलाई लक्षित गरेर आफ्नो अभ्यास तीव्र पार्न आह्वान गरिएको छ।

कर्णाली भिजन । आइतबार, असोज १८, २०८३