नेपाली खेलकुद क्षेत्रमा चिन्ताजनक चित्र: छनोट र प्रतियोगिताकै क्रममा यौनजन्य दुर्व्यवहार भोग्न बाध्य महिला खेलाडी 
नेपाली खेलकुद क्षेत्रमा लागेका महिला खेलाडीहरू यौनजन्य दुर्व्यवहारको सिकार भइरहेको एक गम्भीर अध्ययनले सार्वजनिक गरेको छ। ‘नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपाल’ ले गरेको सर्वेक्षणअनुसार विशेष गरी खेलाडी छनौट र प्रतियोगिता सञ्चालनका क्रममा यस्ता घटना बढी हुने गरेका छन्।
प्राध्यापक दिवाकरलाल अमात्यको नेतृत्वमा भएको उक्त अध्ययनमा विभिन्न १५ वटा खेलका (कराते, फुटबल, भलिबल, एथलेटिक्स, बास्केटबल आदि) २ सय ७६ जना अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीय स्तरका महिला खेलाडीहरू सहभागी थिए।
सर्वेक्षणका मुख्य निष्कर्षहरू:
कहिले हुन्छ दुर्व्यवहार?
३०.८% खेलाडीले टिम छनोटका क्रममा दुर्व्यवहार भोगेको बताएका छन्।
२६.१% ले प्रतियोगिताका क्रममा र ८% ले नियमित प्रशिक्षणका क्रममा यस्तो अनुभव गरेको खुलासा गरेका छन्।
मानसिक र खेल जीवनमा असर:
दुर्व्यवहारका कारण ६५.२% खेलाडीहरू मानसिक तनावबाट गुजरिरहेका छन्।
४६.४% ले चरम निराशा (डिप्रेसन) महसुस गरेका छन् भने १३% खेलाडीले त खेल जीवन नै सधैँका लागि त्याग्ने सोच बनाएका छन्।
मौनता र डर:
घटना घटिसकेपछि पनि २६.१% खेलाडीले डर वा सङ्कोचका कारण कसैलाई भन्न सकेनन् भने २४.६% ले यस विषयमा बोल्नै चाहेनन्। जसले भन्न सके, उनीहरूले मुख्य गरी आफ्ना साथी वा प्रशिक्षकलाई मात्र जानकारी गराएको पाइयो।
समाधानका उपाय र सिफारिस
यस समस्यालाई जरैदेखि उखेल्न ४६.४% खेलाडीहरूले देशव्यापी रूपमा महिला सशक्तीकरण र सचेतना अभियान चलाउनुपर्ने जोड दिएका छन्। साथै २६.१% ले दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
अध्ययन प्रतिवेदनले खेलकुद क्षेत्रमा महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्पष्ट आचारसंहिता, गोप्य रूपमा उजुरी दिने संयन्त्र र कडा नीतिगत तथा कानुनी व्यवस्था तत्काल लागू गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।

कर्णाली भिजन । बिहिबार, साउन २८, २०८३