सुर्खेत — कर्णाली प्रदेश उसु संघको दोस्रो अधिवेशनले गोविन्दबहादुर शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। ७ जिल्लाका प्रतिनिधिहरू सहभागी अधिवेशनले प्रदेशमा उसु खेलको संस्थागत विकास, खेलाडी उत्पादन र प्रशिक्षण विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
नयाँ कार्यसमिति:
अध्यक्ष: गोविन्दबहादुर शाही
उपाध्यक्ष: धर्मराज आचार्य, कृष्ण चालिसे
सचिव: कृष्ण बुढा
कोषाध्यक्ष: धनबहादुर पुलामी
सदस्यहरू: चन्द्र थापा, गोकर्ण शाही, तारा शाही, गंगा बुढा
नेपाल उसु महासंघका केन्द्रीय उपाध्यक्ष हरि थापाको सभाध्यक्षता तथा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठ, तेक्वान्दो संघका अध्यक्ष तोपेन्द्र शाही, कराते महासंघका अध्यक्ष हेमन्त मल्ल, ब्याडमिन्टन संघका अध्यक्ष टंकबहादुर शाही लगायत विभिन्न खेल संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अतिथिहरूले जिल्ला तहदेखि नै प्रतिभावान् खेलाडीको पहिचान, प्रशिक्षण र अवसर विस्तारका लागि खेल संघहरूबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए। नवनिर्वाचित अध्यक्ष शाहीले प्रदेश खेलकुद निकायहरूसँग सहकार्य गर्दै कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कर्णाली भिजन । शनिबार, भदौ २०, २०८३