सुर्खेत :भैरवी गाउँपालिका –४ घुम्नेखाली खम्बागाडेका ५४ वर्षीय चत्तुरे वि.क. १८ वर्षको उमेरदेखि नै आरनमा काम गर्न थालेका हुन्। गाउँमा बालीघरेका रुपमा आरनमा काम गर्दै आएका उनले जीविका चलाउने बाहेक अरू केही गर्न सकेनन् ।
पञ्चायतदेखि बहुदलसम्म भोट हालेका उनी व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको गुनासो गर्छन्। वर्षभरी आरनमा पसिना बगाए पनि दुई–चार पाथी बाली उठाएर जीविका चल्न नसकेपछि चत्तुरे ६ वर्षअघि सुर्खेत झरेका थिए।
त्यति बेला गाउँका नेता, भलाद्मीले समेत उनलाई किन जाने हो भनेर सोधेनन्। तर त्यसको लगत्तै २०७४ को स्थानीय तहको चुनावमा उनको मतको लोभले नेताहरूले उनलाई गाडी नै पठाएर वीरेन्द्रनगरबाट भैरवीसम्म पुर्याए। भोट हालेपछि फेरि कसैले उनलाई वास्ता गरेनन्। फेरि उनी वीरेन्द्रनगर फर्किए।
अहिले पनि गाउँमा चुनावी माहौल तातिरहेको छ। चत्तुरेलाई विभिन्न पार्टीका नेता कार्यकर्ताले फोन गर्न थालेका छन्। अब चुनाव आउन थाल्यो तपाई पनि गाउँमा आउनुस् हामीले जितेपछि सुर्खेतमा दुःख गर्नु पर्दैन घरमै बसी बसी व्यापार चम्किने बनाउँछौँ भनेर आश्वासन दिएका छन्।
‘म गाउँबाट बिरक्तिएर आउँदा कसैले मलाई किन जान्छस् भनेन, जब चुनाव आउँछ अनि मेरो खोजी हुन्छ,’चत्तुरेले भने, ‘म लगायत मेरा आफन्तका भोटको मायाले मलाई नेताहरूले चुनावमा सम्झिन्छन्। यसपालि त मेरो दुःख पिर बुझ्नेलाई मात्रै भोट हाल्ने हो।’
वीरेन्द्रनगर–४ स्थित भैरवस्थानमा सडक छेउमा बाँसको टेकोमा सानो टिनको छानो लगाएर मासिक पाँच सय रुपैयाँ जमिनको भाडा दिने गरी उनी फलामको काम गर्न थाले। गाउँमा बालीघरेमा काम गरेका उनले सुर्खेत आएपछि मात्रै काम गरेर पैसा लिन थाले। पहिला–पहिला त उनलाई कुन सामानको कति पैसा लिने भन्ने विषयमा पनि अप्ठ्यारो लाग्थ्यो।
‘आजभन्दा ६ वर्षअघि म गाउँमा जीविका नचलेपछि सुर्खेत झरेँ यहाँ पाँच सय रुपैयाँ महिनामा दिने गरी भाडामा तीन मिटर जमिनमा टिनको छानो बनाएँ,’उनले भने, ‘म गाउँमा बालीघरे गरेको मान्छे पहिले–पहिले त सामान बनाएको पैसा लिन पनि अप्ठ्यारो लाग्थ्यो। एउटा आँसी (हँसिया) को धार लगाएको ५० रुपैयाँ भन्दा पनि कतै महँगो भनेकी भनेर मनमा कुरा खेल्थे।’
आरनमा चत्तुरेका दुई बूढाबूढीले काम गर्छन्। उनकी श्रीमतीले आरनको पंखा चलाउँछिन् भने चत्तुरेले फलामका भाँडाकुँडा र औजारहरू बनाउँछन्। बिहान सात बजेदेखि साँझ सात बजेसम्म उनीहरूको समय नै आरनमा बित्छ। घाम–पानी र हुरी बतास नभनी काम गर्ने उनीहरूले काम अनुसार दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछन्।
उनका तीन छोरीको विवाह भइसकेको छ भने गाउँमा दुई छोरा छन्। आरनको कमाइबाटै चत्तुरेले माइलो छोरालाई ल्याब पढाएका छन्। अन्य दुई छोरा भने मजदुरी गर्छन् ।आफ्नो पुर्खाले गरेको पेसा पछिल्लो समयमा संकटमा रहेको भन्दै यसको अस्तित्व बचाउन सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। उकेरा
कर्णाली भिजन । शनिबार, बैशाख १०, २०७९